हात्तीपाइले विरुद्ध तेह्रौँ पटक औषधी खुवाइँदै



हात्तीपाइले निवारण गर्ने उद्देश्यले दाङसहितका जिल्लामा फागुन ११ गतेबाट आमऔषधी सेवन अभियान शुरु हुन लागेको छ । कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई आम औषधी सेवन हुनुपर्नेमा गत वर्षपनि निकैले औषधी सेवन गरेका कारण दाङमा तेह्रौँ पटक आमऔषधी सेवन अभियान गर्न थालिएको हो ।

यो अभियान सफल बनाउन जिल्लाका १० वटै पालिकामा रहेका ६ लाख ८७ हजार जनसंख्यालाई औषधी खुवाउन ६ सय ६१ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाउन लागिएको जनाईएको छ । स्वास्थ्य कार्यालय दाङले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान अन्तरगत जिल्लामा क्रियाशील पत्रकारहरुसँग गरेको अन्तरक्रियामा निमित्त कार्यालय प्रमुख डम्मर कुवँरले लुम्बिनीमा दाङसहित बाँके र कपिलवस्तु हात्तीपाइले रोग निवारणमा असफल भएको हुँदा अब यो जिल्लाको जनस्वास्थ्यको दृष्टिकोणले पनि गम्भीर रुपमा सोँच्नुपर्ने बेला भएको बताउनुभयो । सन् २०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरि राख्नु दुखद पक्ष भएको बताउँदै आम औषधी सेवनमा नागरिकको पहुँच बढाउन सचेतना बढाउन सबै सरोकार निकायसँग अपिल गर्नुभयो ।

आगामि सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि नेपालका अधिकांश जिल्ला निवारण भई सक्दा दाङ अहिलेसम्म पछि परेको हुँदा अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको उल्लेख गर्नुभयो । उहाँले हात्तीपाइले रोग विरुद्धको औषधी खाँदा अरु समस्या थपिन्छ भन्ने भ्रम, नकारात्मक बुझाई, दीर्घ रोगीले खान नमान्नु, अभियानमा सम्बन्धित व्यक्तिले चासो नलिनु, हात्तीपाइले रोग निवारण सम्बन्धि सचेतनाका कार्यक्रम कम हुनु जस्ता कारणले विगतमा कमजोरी देखिएको औँल्याउँदै अब यी सबै कुरालाई चिर्दै विगत वर्षमा जिल्लामा ६८ प्रतिशत रहेको आम औषधी कभरेजलाई कम्तिमा ८० प्रतिशत पुर्याउने गरी जुट्न अपिल गर्नुभयो ।
हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले कभरेज ८० प्रतिशत पुर्याउन सक्ने अवस्था नरहेमा आगामि थप दुई वर्ष आम औषधी सेवन अभियान थप्नुपर्ने हुँदा अबका दिनमा सबैसजग हुनुपर्ने बेला भएको बताउनुभयो ।

‘२०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरि राख्नु दुखद भएको बताउदै नेपालका अधिकांश जिल्ला निवारण भई सक्दा पनि दाङ पछि परेको हुँदा अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको जनाउनुभयो । गत वर्षबाट डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल खुवाउने काम हुँदै आएको छ । जस अनुसार, सबैभन्दा कम उचाई भएकाले १–१ वटा डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल गरि ३ गोली औषधी खानुपर्ने तथा सबैभन्दा बढी उचाई हुनेले ४–४ वटा डिईसी र आईभरमेक्टिन तथा एक वटा अल्बेन्डाजोल खानुपर्ने फोकल पर्सन चन्दले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नागरिकको अधिकारका लागि खबरदारी गर्ने मिडियाले स्वास्थ्य क्षेत्रको गम्भीरतालाई पनि उत्तिकै जिम्मेवारीपूर्वक लिने बताउनुभयो । मानव स्वास्थ्यको सुधारका लागि मिडियाले हिजोका दिनदेखि नै वकालत गर्दै आएको हुँदा सरकारले थालेको नागरिक स्वास्थ्यको कार्यक्रमलाई सबैको साथ रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले अब स्वास्थ्यकर्मी नै अभियानमा खटिने हुँदा प्रभावकारी हुने विश्वास गर्दै उहाँले हात्तीपाइले विरुद्धको औषधी सेवन गरेको कार्ड दिन सकेमा यसको प्रभावकारीता बढ्ने सुझाव दिनुभयो ।

जिल्लामा गत वर्षको सर्वेक्षणले ४ सय २९ जनामा हात्तीपाइले र १ हजार ६ सय १४ जनामा हाईड्रोसिल गरी कुल २ हजार ४४ जनामा यो समस्या रहेको छ । सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो ।
तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो ३ वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौति देखिएको छ । सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको कभरेजको दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्