दाङको तुलसीपुरमा ईभी गाडीको ठक्करबाट पैदलयात्री घाइते




दाङको तुलसीपुरमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छन्। घाइते हुनेमा बबई गाउँपालिका–५ स्थायी घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ मा बसोबास गर्दै आएकी ३८ वर्षीया दिलमाया केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४:३० बजे तुलसीपुर–६ स्थित नापी कार्यालय नजिक रौनियार चोकबाट सेन्टर स्कुलतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च ४००४ नम्बरको ईभी गाडीले पैदल हिँडिरहेकी केसीलाई ठक्कर दिएको हो।
दुर्घटनामा केसीको टाउको तथा शरीरमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। थप उपचार आवश्यक परेपछि साँझ ५ बजे साझा अस्पताल तुलसीपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ईभी गाडीका चालक तुलसीपुर–६ निवासी ३९ वर्षीय सम्मान बाबु डाँगी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन् भने गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्