सल्यानमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते




सल्यानको त्रिवेणी गाउँपालिका ५, सिम्कमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

शनिबार बिहान करिब ८ बजे सिंखबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका ६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको हो।

दुर्घटनामा चालक त्रिवेणी ५ सिम्कका २४ वर्षीय भुपाल पुनसहित पारस बोहरा, डिल्लीबहादुर वली र लालमति बुढाथोकी घाइते भएका छन्। चालक पुन र लालमतिको अवस्था गम्भीर रहेको तथा अन्य दुई घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते चारै जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्