राप्ती राजमार्ग स्तरोन्नतिको काम हुदै



राप्ती राजमार्गलाई पाँच खण्डमा विभाजन गरी सडक स्तरोन्नतिको काम भइरहेको छ ।

तीन वटा ठेक्कामार्फत अघि बढाइएको स्तरोन्नति मध्ये पुराना दुई प्याकेजमा कालोपत्रे गर्ने र नयाँ तीन खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको छ ।

आर्थिक वर्ष २०८१÷८१ मा सम्झौता भएका राम्री–कपुरकोट र सल्यान–रुकुमको खौला क्षेत्रका सडक स्तरोन्नतिका काम २०८२ सालभित्र सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ भएको थियो। म्याद थप गरिएका यी आयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, दाङको हरनेटी–राम्री तथा सल्यानको चोरखोला–कपुरकोट र सम्धीमोड–खारखोला खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको छ । यी तीन खण्डमा २०८२ जेठ ४ गते ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २०८४ जेठसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार पुराना ठेक्काअन्तर्गत करिब ९० प्रतिशत र नयाँ ठेक्काअन्तर्गत ५५ प्रतिशत काम सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सडकमा सुरक्षित आवागमनको व्यवस्था मिलाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँका अनुसार चाडपर्वका बेला सवारी आवागमन प्रभावित हुन नदिन जोखिमयुक्त स्थानमा कटिङको काम रोक्न तथा सडकमा खसेका ढुङ्गा र सानातिना पहिरो हटाउन भनिएको छ ।

निर्माण स्थलको अवस्था हेरेर आवश्यक व्यवस्थापन गर्नसमेत निर्देशन दिइएको विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ कार्तिक १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्