आज दिउँसो भारी वर्षाको सम्भावना छैन, रातिदेखि वर्षा बढ्ने अनुमान




जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ। यद्यपि, रातिदेखि वर्षाको गतिविधि बढ्ने र आगामी भोलि तथा पर्सिसम्म यसको प्रभाव रहने अनुमान गरिएको छ।
विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्छ। त्यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना छ।
त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएको छ।
यसैबीच, बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’को अवशेषका रूपमा रहेको गहिरो न्यूनचापीय प्रणाली कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भएको भारतीय मौसम विभागले जनाएको छ।
भारतीय मौसम विभागका अनुसार उक्त प्रणाली पछिल्लो समय उत्तरतर्फ सर्दै कमजोर बनेको हो। आज साँझसम्म यो प्रणाली अझ कमजोर हुने अनुमान गरिएको छ।
नेपालको जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणाली नेपाल प्रवेश गर्दा थप कमजोर हुने सम्भावना छ। यसको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा, हिमपात तथा हावाहुरी हुन सक्ने भए पनि चक्रवात शक्तिशाली हुँदाको जस्तो तीव्र हावाहुरीको सम्भावना भने नरहेको विभागले जनाएको छ।
वर्षा तथा हिमपातको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्