ग्वारखोला पुल मर्मत पछि साना सवारीसाधन सञ्चालनमा




दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत ग्वारखोला पुलबाट आज बिहानदेखि साना सवारीसाधन सञ्चालनमा आएका छन्।
गत असोज १० गतेको वर्षाका कारण पुलको पूर्वतर्फको भाग भत्किएपछि सडकखण्डमा सवारी आवागमन प्रभावित भएको थियो।

भत्किएको भागको मर्मत सम्पन्न भएपछि साना सवारीसाधन सञ्चालनमा ल्याइएको तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख माधव वलीले जानकारी दिनुभयो।

निर्माण कम्पनी सगुन कन्ट्रक्सनले तोकिएको अवधिमै मर्मतको काम सम्पन्न गरेपछि मोटरसाइकल, अटो, जिप र कारलगायत साना सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको हो।

ठूला सवारीसाधनका लागि भने वैकल्पिक व्यवस्था गरिएको छ। तुलसीपुरबाट घोराहीतर्फ जाने ठूला सवारीसाधन पुलको उत्तरतर्फबाट र घोराहीबाट तुलसीपुरतर्फ आउने ठूला सवारीसाधन दक्षिणतर्फबाट सञ्चालन हुने व्यवस्था गरिएको छ।

पुलको पूर्वतर्फको भाग भत्किएपछि घोराही–तुलसीपुर आवागमनका लागि यात्रु तथा यातायात व्यवसायीले राप्ती बबई क्याम्पस हुँदै जाने वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए। घुमाउरो वैकल्पिक सडकका कारण यात्रु तथा यातायात व्यवसायीलाई समस्या हुँदै आएको थियो।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्