तुलसीपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको तयारी



लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले  तुलसीपुर दाङमा सरोकारवालाबीच तयारी छलफल गरिएको छ ।
आगामी मंसिर ९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा महिला हिंसा न्यूनीकरण, हिंसाका घटना रोकथाम तथा पीडितको संरक्षणका विषयमा छलफल गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको छलफलमा सहभागीहरूले महिला हिंसा अन्त्यका लागि पितृसत्तात्मक सोच, सामाजिक व्यवहार र विभेदपूर्ण संरचनामा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक  होमबहादुर पराजुलीले सेतो रिबन बाँधेर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभयो । समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच त्याग्न सके मात्रै हिंसा न्यूनीकरण सम्भव हुने उहाँको भनाइ थियो ।
उहाँले कानुनी रूपमा विवाहको उमेर २० वर्ष तोकिए पनि बालविवाहका घटना अझै भइरहेकाले यसतर्फ सचेतना बढाउनुपर्ने बताउनुभयो । पछिल्लो समय तुलसीपुरमा शारीरिक हिंसाभन्दा डिजिटल तथा साइबर हिंसाका घटना चुनौतीका रूपमा देखिन थालेको भन्दै साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । साथै १३ देखि १४ वर्ष उमेर समूहका बालबालिकामा आत्महत्याका घटना चिन्ताजनक देखिएको र तुलसीपुरमा बालिकामाथि जबर्जस्ती करणीका ६ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
छलफलमा ओसीएमसी तथा सेफ हाउसबाट हिंसापीडितलाई प्रदान गरिँदै आएको सेवाबारे पनि जानकारी गराइएको थियो । सेफ हाउस सञ्चालन भएको करिब ६ महिनाको अवधिमा जटिल प्रकृतिका सातवटा घटना आएको र पीडितको संरक्षण तथा पुनर्स्थापनाका काम भइरहेको जानकारी दिइएको थियो । तीमध्ये पाँच जनालाई पुनर्स्थापना गरिएको, एक जना सेफ हाउसमा रहेको र एक जनाको अस्पतालमा उपचार भइरहेको अध्यक्ष लक्ष्मी चाैधरीले बताउनुभयो  ।
त्यसैगरी, ओरेक नेपाल दाङकी कार्यक्रम संयोजक कल्पना चौधरीले हिंसापीडित महिलाको संरक्षण, न्यायमा पहुँच र पुनर्स्थापनाका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
बालअधिकारकर्मी तथा न्यू सिपिसी दाङका अध्यक्ष नवराज लामिछानेले विगतका अभियानको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । महिला हिंसा अन्त्यका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी न्यायिक समिति सदस्य लालमती भण्डारीले न्यायिक समितिमा आएका उजुरी तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित समस्याका विषयमा जानकारी गराउनुभएको थियो । गत वर्ष न्यायिक समितिमा १९९ वटा मुद्दा दर्ता भएकोमा २४ वटा मुद्दा अझै बाँकी रहेको जानकारी दिइएको थियो ।
कार्यक्रममा ओसीएमसी, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरू, पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्