विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यम र सरोकारवालाको भूमिका महत्वपूर्ण



विपद् जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यम तथा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर र नेपाल पत्रकार महासंघ दाङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार सक्रिय रूपमा लागिरहेको बताउनुभयो । उहाँले तुलसीपुरमा विपद्सम्बन्धी काम १५ दिनभित्रै सुरु गरिएको जानकारी दिनुभयो ।

नगरप्रमुख खड्काले जेनजी आन्दोलनका क्रममा तुलसीपुरमा करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै आफ्नै सार्वजनिक सम्पत्ति जलाएर परिवर्तन र क्रान्तिको कुरा गर्नु उचित नभएको धारणा व्यक्त गर्नुभयो । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको दायित्व भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलको बेस क्याम्प तथा प्रहरी गुल्मका सुरक्षाकर्मीहरूले आगलागी, बिरामी पर्दा र विभिन्न विपद्का घटनामा उद्धार तथा प्राथमिक सहयोग कसरी गर्ने भन्ने विषयमा व्यावहारिक जानकारीसमेत गराएका थिए ।

कार्यक्रममा अन्य बक्ताहरुले विपद् जोखिम न्यूनीकरण, सुरक्षा निकायको भूमिका, मानवअधिकारको संरक्षण तथा विपद्का बेला सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा धारणा राख्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष टीकाजंग वलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सञ्चारकर्मी, सुरक्षाकर्मी, उद्योगी व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्