
जिल्ला समन्वय समिति दाङको आयोजनामा १०औँ जिल्ला सभा जिल्ला समन्वय समितिको कार्यालय, घोराहीमा सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाको समग्र विकास, स्थानीय तहहरूबीचको समन्वय तथा सहकार्य, विकास निर्माणका कामको प्रभावकारिता र जिल्लाका साझा सवालहरूका विषयमा छलफल गरिएको थियो। स्थानीय तहले सञ्चालन गरेका विकास निर्माण तथा सेवा प्रवाहका कामलाई थप प्रभावकारी बनाउन आपसी समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
त्यस्तै, जिल्लाको विकासका लागि प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै साझा योजनाहरूको प्रभावकारी कार्यान्वयन, स्रोत–साधनको उचित परिचालन तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
सभाले जिल्लाको समग्र विकास र समृद्धिका लागि स्थानीय तहहरूबीच आवश्यक समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न सभामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माको विशिष्ट आतिथ्यता रहेको थियो।
सभामा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

