
नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदैछ।
घटस्थापनाका दिन पूजा कोठा वा दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ। आज बिहानै चोखो माटो वा बालुवा ल्याएर जौँ रोप्ने गरिन्छ। यसरी रोपिएको जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गर्ने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ।
बडादसैँका अवसरमा नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नौ दिनसम्म शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नवदुर्गाको पूजा गर्ने परम्परा छ। दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।
दसैँको सातौँ दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीमा विशेष पूजा आराधना गर्ने तथा विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ।
समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। देवी विसर्जनको साइत भने सोही दिन बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।

