गर्मीयाममा जेसुकै खाए पनि पर्याप्त पानी पिउनु स्वास्थ्यलाई सन्तुलनमा राख्ने पहिलो एवं प्रमुख उपाय हो । गर्मीमा शरीरमा पानी र ऊर्जाको सन्तुलन मिलाउन पर्याप्त पोटासियम भएका खानेकुरा खानुपर्छ । त्यसमा एभोकाडो, केरा, पाकेको फर्सी, ड्राई फ्रुट्स, साग, ब्रोकाउली, सिमीजस्ता खानेकुरा पर्छन् ।
चिकित्सकका अनुशार फलफूलमा भने खर्बुजा, स्ट्रबेरी, ऐँसेलु, काफल, आरु, आलुबखडा जस्ता खानेकुराले शरीरमा छिट्टै पानीको मात्रा फैलाउन सहयोग पुर्याउँछन् । नरिवलको पानी गर्मीमा शरीरलाई सन्तुलनमा राख्ने एक प्रमुख खाद्य हो । यसले शीतल गराउने मात्र नभएर शरीरमा पर्याप्त मिनरल्स र भिटामिनको मात्रा पनि पुर्याउँछ ।
कागती, बेल, भुइँकटहर जस्ता भिटामिन सीयुक्त फलफूलले नशाहरुलाई सन्तुलनमा राख्न र शरीरबाट विकार पदार्थ बाहिर निकाल्न पनि मद्दत गर्ने भएकाले यस्ता खाद्य गर्मीयाममा फाइदाजनक छन् ।
त्यस्तै, गर्मीयाममा परावैजनी किरणबाट छालामा हुनसक्ने जोखिमहरु कम गर्न गोलभेडा, गाजर, सागका प्रकारहरु, धनियाँजस्ता खानेकुरा फाइदाजनक हुन्छन् । खानामा हरियो तरकारीसहितको सलाद खानाले पानीको मात्रासँगै भिटामिन र मिनरल्सको मात्रा शरीरमा सन्तुलन गर्छ ।
यस्तै गर्मीयाममा मसालेदार, छोप धेरै राखिएका र पिरो खानेकुरालाई सधैँ टाढा राख्नुपर्छ । नुन लगायत सोडियमयुक्त खाना बढी खाँदा उच्च रक्तचाप हुने, डिहाइड्रेसन तथा मिर्गौलालाई पनि असर पुर्याउन सक्छ ।
गर्मीमा चिया, कफी लगायतका पेय पदार्थलाई टाढै राख्नुपर्छ । यस्ता खानेकुराले पाचन प्रक्रियालाई अवरोध पुर्याउँछन् ।
मसालेदार, चिल्लो र पिरोयुक्त खानेकुराले शरीरलाई तताउने मात्र नभएर छालालाई समेत सुख्खा बनाउने हुँदा गर्मीयाममा यस्ता खानेकुरा कम खानु पर्छ ।
त्यस्तै, तारेका खानेकुरा र जंक फुड गर्मीयाममा मात्रै नभएर सधैँ स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् । विशेषगरी गर्मीमा यस्ता खानेकुराले तुरुन्तै फुड पोइजनिङ गराएर आन्द्रामा विभिन्न संक्रमण गराउन सक्छन् ।