आयुर्वेद विद्यापीठका डीनद्वारा पदभार ग्रहण



नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद विद्यापीठका नवनियुक्त डीन प्रा. डा. चन्द्रप्रसाद भुसालले पदभार ग्रहण गर्नुभएको छ । गत बैशाख ३० गते कार्यकारी परिषद्बाट नियुक्त हुनु भएका प्रा. डा. भुसालले डीनको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा, उपकुलपति कार्यालयका योजना, कार्यक्रम तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरजकुमार लामा, उपकुलपति कार्यालयका शाखा प्रमुख विनयकुमार पोख्रेललगायतका कर्मचारीहरुको उपस्थितिमा नवनियुक्त डीन प्रा. डा. भुसालले पदभार सम्हाल्नु भएको हो । पदभार ग्रहण गर्दै प्रा.डा. भुसालले सबैको साथ र सहयोगबाट आयुर्वेद विद्यापीठका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । आफु एक्लैको प्रयासले आयुर्वेद विद्यापीठका गतिविधि अगाडि बढाउन नसक्ने भन्दै उहाँले भन्नुभयो, ‘मेरो एक्लो प्रयासले यो संस्थालाई अगाडि बढाउने भन्दा सबैको साथ, सहयोग र सामुहिक कार्यको आवश्यकता पर्दछ । यसका लागि मैले सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’
उक्त अवसरमा शिक्षाध्यक्ष प्रा.डा. खतिवडाले आयुर्वेद विद्यापीठ विश्वविद्यालयको महत्त्वपूर्ण अङ्ग भएकाले यसको महिमालाई उचो राख्ने गरी काम गर्न नव नियुक्त डीनलाई निर्देशन दिनुभयो । ‘आयुर्वेद विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको महत्त्वपूर्ण अङ्ग हो । यसको महत्त्व र महिमा अनुसार काम गर्नुहोला’, शिक्षाध्यक्ष प्रा.डा. खतिवडाले भन्नुभयो, ‘आयुर्वेद चिकित्सा क्षेत्रमा यहाँले संगाल्नुभएको ज्ञान र अनुभवलाई भरपुर प्रयोग गर्नुहोला ।’

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्