गुरु जजुर नमुना मावि: गुणस्तरीय शिक्षाका कारण भर्ना आकर्षण बढ्दो




दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरु जजुर नमुना माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना हुने आकर्षण बढ्दै गएको छ। विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेका अनुसार २०७९ को एसइई परीक्षामा देशभर सातौं स्थान हासिल गर्नु, विज्ञान प्रवर्द्धन विद्यालयको रूपमा छनोट हुनु तथा आधुनिक प्रविधियुक्त शिक्षण प्रणालीले विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाएको हो।
विद्यालयमा आधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, मल्टिमिडिया र डिजिटल बोर्डमार्फत अध्यापन, ई–लाइब्रेरी सुविधा लगायत व्यवस्था गरिएको छ। साथै अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने, दृष्टिविहीन, असहाय तथा अपाङ्ग विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिने व्यवस्था रहेको छ।

कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने छात्रालाई प्रदेश सरकारबाट छात्रवृत्ति तथा तीन वर्षे बाली विज्ञान अध्ययनका लागि विशेष छात्रवृत्ति प्रदान गरिन्छ। विद्यालयमा अत्याधुनिक १२ कोठे भवन, सिसी क्यामेरा जडानसहित सुरक्षा व्यवस्था र जीपीएस प्रणालीसहितको यातायात सुविधा पनि उपलब्ध छ।


विद्यालयले शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य रूपमा यहीँ भर्ना गर्नुपर्ने निर्णयसमेत गरेको छ। प्रधानाध्यापक विष्णुकुमारी केसीका अनुसार यसले सरकारी विद्यालयप्रति जनविश्वास बढाउने र शिक्षकको जिम्मेवारी अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

हाल २ हजार ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा आगामी शैक्षिक सत्रदेखि थप २५ जना विद्यार्थी भर्ना हुने अपेक्षा गरिएको छ। १५ जिल्लाबाट विद्यार्थी आकर्षित गर्न सफल यो विद्यालय सामुदायिक शिक्षामा नयाँ उदाहरणको रूपमा स्थापित हुँदै गएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्