
शरद शर्मा मज्गैया
दाङको तुल्सीपुर उपमहानगरपालिका ९ बेलुवामा रहेको सगरमाथा स्कुलले शिक्षालाई व्यवहारमा उतार्दै एउटा उदाहरणीय अभ्यास अघि सारेको छ जहाँ विद्यार्थीहरू आफैं शिक्षक बन्छन्। यसको प्रभाव अहिले घरघरमा देखिन थालेको छ।
तुल्सीपुर ९ बेलुवा निबासी अभिभावक पिताम्बर केसी भन्नुहुन्छ, विद्यालयले स्कुलमा ग्रुपमा पढ्ने अभ्यास गराएको प्रभाव अहिले घरमा पनि देखिन थालेको छ । नानी बाबुले यसरी पढेको देख्दा आफूलाई निकै खुसी लागेको केसीले बताउनुहुन्छ । विद्यालयले कक्षा सञ्चालनकै क्रममा विद्यार्थीहरूलाई समूहमा राखेर ‘जान्नेले नजानेलाई सिकाउने संस्कार विकास गराउँदै आएको विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले बताउनुभयो ।
यस अभ्यास अन्तर्गत सिनियर विद्यार्थीहरू जुनियरका लागि मार्गदर्शक बन्दै ज्ञान बाँडिरहेका छन्। यसले सिकाइलाई सरल, सहज र प्रभावकारी बनाएको विद्यार्थी अनिषका डांगीको भनाइ छ ।
यसबाट विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्य भावना उल्लेखनीय रूपमा विकास भइरहेको छ।
अझ महत्वपूर्ण कुरा के छ भने, यो सकारात्मक अभ्यास विद्यालयमै सीमित नरही अहिले फाइनल परीक्षा सकिएर घरमा बसिरहेका विद्यार्थीहरूमा पनि देखिन थालेको छ।
घरमा बस्दा पनि दाइ–दिदीहरूले आफ्ना साना भाइबहिनीलाई पढाउँदैछन्। जान्ने विद्यार्थीले नजान्नेलाई सिकाउने संस्कार घर–घरमा फैलिँदै गएको छ।
यसले देखाएको छ सगरमाथा स्कुलको सिकाइ केवल कक्षाकोठामा सीमित छैन, यो जीवनशैली बनेको छ।
ज्ञान बाँड्दा बढ्छ भन्ने सन्देशलाई व्यवहारमै उतार्दै सगरमाथा स्कुलले सिक्दै सिकाउने संस्कृतिलाई विद्यालयबाट घरसम्म पुर्याएको छ।

