नेसंविका प्राध्यापकहरुलाई क्षमता विकास तालिम




दुर्गालाल केसी

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरुका लागि शुक्रबारदेखि काभ्रेको धुलिखेलमा पेशागत क्षमता विकास तालिम शुरु भएको छ । संस्कृत विश्वविद्यालयको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित तालिममा संस्कृत विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयका प्राध्यापकहरुले तालिम दिने कार्यक्रम छ ।

एक सातासम्म सञ्चालन हुने तालिममा अनुसन्धान र शिक्षणका आधुनिक पद्धतीबारे प्रशिक्षण दिइने भएको छ । संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीको अध्यक्षता र विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।

तालिम उद्घाटन गर्दै उपकुलपति नेपालले तालिमबाट प्राध्यापकहरुको क्षमता विकास भई विश्वविद्यालयको गुणस्तर बृद्धि हुने अपेक्षा गरिएको बताउनुभयाे । उच्च शिक्षामा बिशिष्टतालाई प्रवद्र्धन गर्दै समयानुकूल परिमार्जन गर्दै जाने उद्धेश्यले तालिमहरु सञ्चालन गरिरहेको उहाले जानकारी दिनुभयाे।
ज्ञानको दायरा फराकिलो बनाउँदै सिकाईमा नयाँ प्रबिधि अनुशरण गर्न तालिमहरु जरुरी रहेको संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. सुधन कुमार पौडेलले बताउनुभयाे।

तालिम उदघाटन कार्यक्रममा संस्कृत विश्वविद्यालय प्राध्यापक संघका महासचिव सहप्राध्यापक डा. नारायण बरालले पूर्वीय दर्शनको विकासका लागि विश्वविद्यालयले लगानी बढाउनुपर्ने सुझाव दिनुभएकाे थियाे ।
तालिमको महत्वबारे प्रकाश पार्दै कालिका विद्यापीठ गैंडाकोटका प्राचार्य डा. केशव चालिसेले विश्वविद्यालयको शिक्षालाई समयानुकूल विकास गर्न तालिम आयोजना गरिएको बताउनुभयाे । कार्यक्रमको सहजिकरण विश्वविद्यालयका उप लेखानियन्त्रक नविन कुमार पोख्रेलले गर्नु भएको थियाे।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्