
तुलसीपुर उपमहानगरपालिकामा अवस्थित ज्ञान ज्योति सेकेन्डरी स्कुलको वार्षिक उत्सव आज सम्पन्न भएको छ। विद्यालयका सिईओ सुरेन्द्र जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि भण्डारीले तुलसीपुर क्षेत्रमा गुणस्तरीय शिक्षाको विकासका लागि प्रत्येक विद्यालयमा अब्बल र दक्ष शिक्षक आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षामा सुधार ल्याउन शिक्षकको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले तुलसीपुरका निजी विद्यालयहरूमध्ये ज्ञान ज्योति सेकेन्डरी स्कुल फरक शैक्षिक धार र पहिचान बोकेको विद्यालयका रूपमा स्थापित हुँदै गएको बताएका छन्।

उत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कला, नृत्य तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै विद्यार्थीहरूद्वारा तयार पारिएका शैक्षिक सामग्री तथा कला संस्कृति सम्बन्धी प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसले उपस्थित अतिथि तथा अभिभावकहरूको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ।

