
किसान धानबाली भित्र्याउन व्यस्त रहेका बेला मौसममा फेरबदल हुने भएको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रका कारण आगामी बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
वर्षाले पाकेको धानबालीमा क्षति पुर्याउन सक्ने भएकाले सम्भव भएसम्म वर्षाअघि नै धान भित्र्याउन विज्ञहरूले सुझाव दिएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका कृषिमौसमविद् रामेश्वर रिमालले धान राम्रोसँग नपाकेको भए घाम लागेपछि मात्र काट्न उपयुक्त हुने बताउनुभएको छ।
काटेको धान तत्काल भित्र्याउन नसके पानी नजम्ने अग्लो ठाउँमा राखेर त्रिपालले छोप्न उहाँले सुझाव दिनुभएको छ। पाकेको धान काट्न नसक्ने किसानले खेतमा एक लाइन काटेर पानी निकास हुने व्यवस्था गर्न सक्ने उहाँको भनाइ छ।
मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबारदेखि शनिबारसम्म विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मध्यमदेखि केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
बुधबारदेखि हिमाली क्षेत्रमा छिटपुट वर्षाको सम्भावना रहे पनि बिहीबार दिउँसोदेखि वर्षाको प्रभाव बढ्ने अनुमान गरिएको छ।
लगातार झरी पर्नेभन्दा केही समय पानी पर्ने र रोकिने अवस्था रहने मौसमविद् लामिछानेले बताउनुभएको छ। चक्रवात विकसित हुने क्रममा रहेकाले वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न नसकिने भन्दै विभागले नियमित अद्यावधिक सूचना हेर्न आग्रह गरेको छ।
वर्षासँगै हल्का हावाहुरी चल्न सक्ने भएकाले धान ढल्नुका साथै उखु र केरामा समेत क्षति पुग्न सक्ने कृषि मौसमविद्हरूले बताएका छन्।
आइतबारदेखि भने मौसममा क्रमिक सुधार हुने मौसम विज्ञान विभागले जनाएको छ।

