
सम्भावित विपद् तथा जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जिल्लावासीलाई कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको भन्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो।
प्रशासनले कात्तिक १२ गते बिहीबारदेखि तीन दिनसम्म नदी तथा खोलामा बाढी आउन सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा हावाहुरीको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
यस अवधिमा आवश्यक कामबाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नजान तथा मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।
त्यस्तै, किसानलाई थन्क्याउन बाँकी रहेको अन्नबाली सुरक्षित स्थानमा राख्न तथा काट्ने, भित्र्याउनेलगायतका कृषि कार्यमा पनि सावधानी अपनाउन भनिएको छ।
सम्भावित जोखिमका बेला आवश्यक सूचना तथा पूर्वसूचना सम्बन्धित निकायबाट लिन र आपत्कालीन अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय दाङले सबै जिल्लावासीलाई सम्भावित जोखिमप्रति सचेत रहँदै कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।।

