संविधान दिवसमा तुलसीपुरमा अन्तरक्रिया सम्पन्न



 

संविधान दिवस २०८२ का अवसरमा “संविधानको भावना हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित अन्तरक्रिया कार्यक्रम शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरुले संविधानको कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र जेनजि पुस्ताको मागबारे धारणा राखेका थिए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि आ–आफ्ना धारणा राखे।

निवर्तमान नगर प्रमुख घनश्याम पाण्डे ले भ्रष्टाचार र कुशासन विरुद्ध साझा संकल्प गर्नुपर्ने बताउनुभयाे ।  नेकपा एमालेका उपाध्यक्ष मनोज बुढाथोकि ले भावनामा बगेर प्रतिक्रिया दिन नहुने बताउनुभयाे ।

नेकपा  माओवादी केन्द्र तुलसीपुरका इञ्चार्ज डिल्लीराज अधिकारीले “यो आन्दोलन रोटी सेक्ने आन्दोलन होइन, माग पूरा गर्नुपर्छ” भन्दै युवालाई उद्यमशील बनाउनुपर्नेमा जोड दिनुभयाे । शेषुराम भण्डारीले राजनीतिक स्थायित्व अपरिहार्य रहेको उल्लेख गर्नु भयाे ।

वरिष्ठ अधिवक्ता प्रदिपकुमार धितालले संविधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै, “संविधानको पालन नगरे प्रजातान्त्रिक अभ्यास नै संकटमा पर्छ, जेनजि पुस्ताको मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ,” भन्नुभयो।

तृष्णा रोकाया (जेनजि, मेट्रो कलेज) ले किताबमा मात्र समानताको हक लेखेर पुग्दैन भन्दै व्यवहारमा पनि अवसर दिनुपर्नेमा जोड दिनुभयाे। त्यस्तै पुनम डाँगी (जेनजि, राप्ती–बबई क्याम्पस) ले युवापुस्तालाई समावेशी र समान अवसर दिनुपर्ने धारणा राख्नुुभयाे ।

पत्रकार तथा मानवअधिकारकर्मी सुशील बस्नेतले भन्नुभयाे –
“आम निर्वाचन कसरी सफल बनाउन सकिन्छ भन्ने मूल प्रश्न हो। निर्वाचन सफल भए लोकतन्त्र सफल हुन्छ, लोकतन्त्र सफल भए मानवअधिकार र विकासका बाटा खुल्छन्।”

अन्य बक्ताहरु सिमा न्यौपाने, साबित्रा विश्वकर्मा, घनश्याम ढकाल, शुक्रराज भण्डारी  लगायतका वक्ताहरुले संविधानका धाराहरु कार्यान्वयन नगर्दा वर्तमान समस्या उत्पन्न भएको बताए।वक्ताहरुले भारतीय मिडियाले जेनजि आन्दोलनलाई प्रचार गरेको, चुच्चे नक्सा हटाउनु राष्ट्रवाद नभएको, संविधान लेखेर मात्र पुग्दैन, कार्यान्वयन गर्नैपर्नेमा जोड दिएका थिए।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा मेयर खड्काले जेनजी आन्दाेलनमा भवन क्षतविक्षत भएपछि काम गर्न असहज हुदा शान्तिनगर र दङ्गिशरण गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको र सबै  सेवाहरु दशैँ अगावै सुचारु गर्ने गरि लागिपरेकाे बताउनुभयो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रमको सहजीकरण अधिवक्ता श्रीराम चौधरीले गर्नुभएको थियो।

 

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्