
विपन्न नागरिकलाई सहयोग जुटाउने मुख्य उद्देश्यसहित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा भाेलि मंसिर ६ गतेदेखि महायज्ञ सञ्चालन हुने भएको छ। महायज्ञ वडा कार्यालयदेखि पश्चिमतर्फको बगैँचा मैदानमा संचालन हुन लागेको हो ।
महायज्ञ सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। महायज्ञलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मूल व्यवस्थापन समिति, दाता पहिचान समिति गठन गर्नुका साथै टोल विकास संस्था, आमा समूह, उद्योग वाणिज्य संघ, विद्यालय तथा विभिन्न संघसंस्थालाई समेत परिचालन गरिएको छ।
त्यस्तै, मञ्च व्यवस्थापन र खाना व्यवस्थापनलगायतका कामसमेत अघि बढाइएको छ।
महायज्ञको उद्घाटनको अवसरमा भोलि दिउँसो ठीक १२ बजे हेमन्तापुर वडा कार्यालयकाे गेटदेखि विश्वबरधाम मन्दिरसम्म कलश यात्रा गरिनेछ भने दिउँसो १ बजे औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिएको छ। महायज्ञको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले गर्नुहुनेछ।
महायज्ञलाई समग्र पालिकाकै हित र सहयोग पुग्ने उद्देश्यले सञ्चालन गर्न लागिएको वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीले जानकारी दिनुभयो।
उहाँले महायज्ञ सफल बनाउन सम्पूर्ण भक्तजन, वडावासी तथा तुलसीपुरवासीलाई सहयोग र सहभागिताका लागि आग्रहसमेत गर्नुभएको छ।
महायज्ञबाट संकलित सहयोग विपन्न नागरिकको हितमा परिचालन गर्ने आयोजकको मुख्य उद्देश्य रहेको छ।
प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार

