विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा पुर्‍याउन नागरिक अगुवाको आग्रह




विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भएको अवसरमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरिएको छ।

‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पुनः आग्रह’ भन्ने नारासहित मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज शनिबार  तुलसीपुरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो आग्रह गरेका हुन्।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति अमृतप्रसाद शर्माको अध्यक्षता तथा नागरिक अगुवा टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै रेग्मीले शान्ति प्रक्रियालाई पूर्णता दिन नयाँ सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो। उहाँले सङ्क्रमणकालीन न्यायको विषय लामो समयदेखि अल्झिएकाले पीडितलाई न्यायको अनुभूति हुने गरी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, खोजी पत्रकारिता गर्ने पत्रकारलाई जेल हाल्ने सरकारको कार्य निन्दनीय भएको टिप्पणी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहनप्रसाद धिताल, मानव अधिकारकर्मी सुष्मा गिरि लामिछाने र संस्थाका पूर्व सभापति नवीनकुमार पोख्रेल , पत्रकार सरद रेग्मी लगाएतले शान्ति सम्झौताको मर्मअनुसार द्वन्द्वपीडितले न्याय पाउनुपर्ने बताउनुभयो। उहाँहरूले सत्य निरूपण, पीडितलाई न्याय तथा दोषीलाई जवाफदेही बनाउने प्रक्रियामा ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा मानव अधिकारकर्मी निर्मल नेपालीले ‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव मधुसुदन गौतमले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सराेकारवालाहरु, दण्द्दपिडित,पत्रकारहरुकाे उपस्थिति रहेको थियाे ।।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्