
दाङको घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्यालसहित १३ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार काठेकोलस्थित ‘टी थ्री’ होटलमा आइतबार राति प्रहरीले छापा मार्दा ३ लाख ४५ हजार ९१५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हाे ।
पक्राउ पर्नेहरूमा वडाध्यक्ष अर्यालसँगै घोराही उपमहानगरपालिकाका इन्जिनियर प्रवीण रावत, पूर्व इन्सपेक्टर नारायण प्रसाद अधिकारी, मितेरी अस्पतालका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी. लगायत अन्य व्यक्ति रहेका छन्।
त्यसैगरी प्रहरीले घोराही–१५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा चार जना सहित थप ६० हजार ६४० रुपैयाँ बरामद गरेको छ।
प्रकाशित मिति : २०८२ कार्तिक ३ गते सोमवार

