
महिला पुनर्स्थापना केन्द्र (ओरेक) दाङले सार्वजनिक गरेको लैंगिक हिंसा सम्बन्धी त्रैमासिक तथ्यांकले किशोरीहरू प्रेम सम्बन्ध, यौन हिंसा र जातीय विभेदको उच्च जोखिममा रहेको देखाएको छ ।
ओरेक दाङले जनवरीदेखि मार्च २०२६ सम्मको अवधिलाई समेटेर प्रकाशित गरेको प्रेस विज्ञप्तिअनुसार लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लामा पहिचान भएका कुल ५१ वटा लैंगिक हिंसाका घटनामध्ये १० प्रतिशत किशोरीहरू विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका छन् ।
तथ्यांक विश्लेषण अनुसार किशोरीहरू बाल उमेरमै गर्भवती हुने, असुरक्षित तथा जोखिमपूर्ण अवस्थामा बच्चा जन्माउन बाध्य हुने, कानूनी मान्यता नपाउने वैवाहिक सम्बन्धमा बाँधिने तथा जातीय विभेदका कारण थप हिंसाको जोखिममा पर्ने अवस्था देखिएको ओरेकले जनाएको छ ।
ओरेक दाङका संयाेजक कल्पना चाैधरीका अनुसार प्रेम सम्बन्धका नाममा किशोरीमाथि हुने यौन हिंसा, सामाजिक दबाब र विभेदले उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा गम्भीर असर पारिरहेको छ ।
विशेषगरी अन्तरजातीय सम्बन्धका कारण परिवार तथा समाजबाट बहिष्कार, मानसिक यातना र असुरक्षाको अवस्था सिर्जना हुने गरेको तथ्यांकले देखाएको छ ।
संस्थाले बालअधिकार र मानवअधिकारको दृष्टिकोणबाट संरचनागत विभेद तथा हानिकारक परम्परागत अभ्यासप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न माग गरेको छ । साथै पीडकलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न तथा किशोरीहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्न सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
ओरेकले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन, किशोरीमैत्री संरक्षण प्रणाली निर्माण तथा समाजमा बढ्दो लैंगिक हिंसा न्यूनीकरणका लागि नीतिगत रूपमा ठोस कदम चाल्न आवश्यक रहेको जनाएको छ ।




