
दाङमा एक किशोरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। राप्ती गाउँपालिका–२ बह्राखुट्टीका १७ वर्षीय स्मिथ प्रधान मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान गर्दै प्रहरीले संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रधानको शव राप्ती गाउँपालिका–४ स्थित दोलाई खोलाको सुख्खा नालामा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा शुक्रबार दिउँसो फेला परेको थियो। घटनामा उनका साथी १६ वर्षीय आयुषमान थापा मगर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्या आरोपमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढालाई पक्राउ गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट सामाजिक सञ्जालमा फेक आइडी प्रयोग गरी भेट्न बोलाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। घटनामा कम उमेरको प्रेम सम्बन्ध, बदलाको भावना र सामाजिक सञ्जालको दुरुपयोग कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

