मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २८ औं साधारण सभा सम्पन्न

"राज्यकाे फितलाे कार्यलाइ झक्झक्याउन शान्ति समाज पछि हट्नु हुन्न : पूर्वमुख्यमन्त्री चौधरी"


“नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता” भन्ने मूल नारासहित मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २८ औं साधारण सभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।

शान्ति समाज दाङका सभापति काेमल डिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चौधरीले निजि संघसंस्थाले बेथिति उजागर गर्ने कार्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रेस स्वतन्त्रता र शान्ति स्थापनामा खबरदारीको भूमिका अझ महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले “कसैको आश नगरी आफ्नाे मुद्दामा अडिग भएर लागेकाे शान्ति समाज राज्यकाे फितलाे कार्यलाइ झक्झक्याउने सवालमा पछि हट्नु हुँदैन” भन्ने आग्रह गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले समाजले राज्यलाई जवाफदेही र पारदर्शी बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धितालले सत्ताधारीहरूले आफ्ना अनुकूल कानुन ल्याउने प्रयास गर्दा समाजले त्यसमा हस्तक्षेप गर्दै आएको बताउनुभयो ।

सस्थापक अध्यक्ष डिल्लिराज धितालले राजनीतिक उथलपुथलका कारण नागरिक समाज पनि याे यसको संस्था हाे भन्ने अवस्थामा पुगेको बताउनुभयो ।

साधारण सभामा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, समाजका केन्द्रीय सचिव तुलसीराम सुनार, राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनीका उपाध्यक्ष देवा डाँगी, ज्येष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, तुलसीपुर उधाैग बाणिज्य संघका महासचिव केशवराज केसि, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष खड्का, प्रेेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी, महिला मानव अधिकार रक्षकका पद्मा चाैधरी, फेडाे दाङका अध्यक्ष युवा करारा, कर्णाली प्रदेश सचिव डिल्लि प्रसाद जैसी, सुर्खेत सभापति दीपक गौतम, समाज कल्याण केन्द्रका सचिव जानुका केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन सदस्य रजनी शाहले प्रश्तुत गर्नु भएको थियाे भने सांगठनिक प्रतिवेदन सचिव माधव बस्नेतले प्रस्तुत गर्नुभएको थियाे ।

समाजका उपसभापति अमृत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव माधव बस्नेतले गर्नुभएको थियाे ।

२०५३ सालमा स्थापना भएको यस संस्थाले मानव अधिकार लाेकतन्त्र शान्ति र अहिंसाकाे पक्षमा काम गर्दै आएकाे छ । हालसम्म मानव अधिकार तथा शान्ति समाजमा १०३ जना आजीवन सदस्य रहेका छन् ।

 

 

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्