
तुलसीपुर उपमहानगरपालिका १८ का वडाध्यक्ष माधव वलीले मानवीय भावना, आपसी सद्भाव र मेलमिलापमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।
तुलसीपुर १८ को आयोजनामा धनखन्ने रानी तालमा आयोजित दसैँ मिलन तथा वडाको विकास निर्माणबारे पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै वलीले कंक्रिटको गन्ध आउने समाज नभई मानिसको गन्ध आउने समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले पछिल्लो जेनजी विद्रोहपछि विकास निर्माणका विषयमा नागरिकको चासो घट्दै गएको उल्लेख गर्दै विकास निर्माणका काम जनप्रतिनिधि वा सरकारले आफ्नै खर्चमा गरेको जस्तो भाष्य निर्माण गर्नु उचित नभएको बताउनुभयो।
यसैबीच, आफू वडाध्यक्षमा निर्वाचित भएपछि वडामा विभिन्न विकास निर्माणका काम अघि बढाएको जानकारी दिँदै उहाँले धनखन्ने रानी तालले सिँचाइमा समेत सहयोग पुर्याएको बताउनुभयो। वडामा सुक्खा क्षेत्र पछिल्लो समय हराभरा भएको बताउदै वडामा भाैतिक निर्माणका काम सिचाइ , सडक, स्वास्थ्यमा सुधार हुदै गएकाे बताउनुभयाे । अब वडाकाे याेजना भाैतिक भन्दा मानवीय कार्यमा काम गर्ने बताउनुभयो । शिक्षाका क्षेत्रमा , मानिसकाे आर्थिक पाटाेलाइ सुधार गर्नेमा केन्द्रीत रहने उहाँको धारणा थियाे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले तुलसीपुर १८ ले प्रकृति संरक्षण, विकास निर्माण तथा तालतलैया निर्माणमा गरेको कामको प्रशंसा गर्नुभयो। उहाँले प्राकृतिक स्रोतको संरक्षणसँगै विकास निर्माणका कामलाई अघि बढाएको भन्दै वडाको प्रशंसा गर्नुभयो।
वडाध्यक्ष माधव वलीको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

