लेखापढी व्यवसायीहरूको १२औँ वार्षिक साधारण सभा सम्पन्न



तुलसीपुरमा लेखापढी व्यवसायीहरूको छाता संगठन नेपाल लेखापढी व्यवसायी एसोसिएसन, इकाई समिति तुलसीपुरको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

इकाई अध्यक्ष विनोद न्यौपानेको अध्यक्षता तथा मालपोत कार्यालय तुलसीपुरका प्रमुख शान्त राज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यवसायीहरूले आफ्नो पेशालाई संकटमा पार्ने गतिविधि भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रममा अधिवक्ता बसन्त केसीले लेखापढी कानुन व्यवसायीलाई अदालतबाट पुनः नवीकरण गर्ने प्रावधानले व्यवसायीलाई सहज हुनुका साथै आधिकारिकता र सुशासन कायम गर्न सहयोग पुग्ने बताउनुभयो।

नेपाल लेखापढी व्यवसायी एसोसिएसन लुम्बिनी प्रदेश संयोजक हरिलाल पौडेलले जेन्जी आन्दोलनपछि अस्तव्यस्त बनेका इकाई समितिलाई व्यवस्थित गर्न आफू लागिपरेको बताउनुभयो। उहाँले स्थानीय तहमा मालपोत सेवा लैजाने विषयले व्यवसायीमा अन्योल सिर्जना गरेको उल्लेख गर्दै कागजात व्यवस्थापनमा मालपोत कार्यालयले थप सहजता ल्याउनुपर्ने बताउनुभयो।

प्रमुख अतिथि गौतमले पर्याप्त स्रोतसाधन र कर्मचारी अभावका कारण सेवाप्रवाहमा समस्या रहेको बताउँदै गुनासोरहित र छिटोछरितो सेवा दिन कार्यालयले सुधारको प्रयास गरिरहेको जानकारी दिनुभयो। उहाँले भूमि प्रशासनलाई बिचौलियारहित बनाउनुपर्ने र लेखापढी व्यवसायी पनि यसमा सचेत हुनुपर्नेमा जोड दिनुभयो।
इकाई अध्यक्ष विनोद न्यौपानेले जेन्जी आन्दोलनका क्रममा भौतिक क्षति बेहोरेका लेखापढी व्यवसायीलाई राज्यका तर्फबाट थप दुःख दिने काम भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।
साधारण सभाको उद्घाटन सत्रमा सल्लाहकार सेवकराम आचार्यले स्वागत मन्तव्य तथा सचिव तिलकराम शर्माले सहजीकरण गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्