दाङमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते



दाङको दाङिशरण गाउँपालिका ६ श्रीगाउँस्थित तुलसीपुर सुर्खेत सडकखण्डमा शनिबार साँझ मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मोटरसाइकलमा पछाडि सवार सल्यान कालिमाटी गाउँपालिका ३ का २३ वर्षीय भिषन पुनमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

मोटरसाइकल चालक बबई गाउँपालिका ३ का २९ वर्षीय गणेश वली गम्भीर घाइते छन्। वलीलाई नेपालगञ्ज हुँदै भारतको लखनउ स्थित आशिर्वाद सिटी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

तुलसीपुरबाट हंसपुरतर्फ जाँदै गरेको रा.७ प.५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटतर्फबाट आउँदै गरेको ना.६ ख.२६३५ नम्बरको ट्रक करिब ८ बजे ठोक्किएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल, ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको  छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्