मटाँवा बरघर भलमन्सा तुलसीपुर नगर समितिले दशै मिलन कार्यक्रम गर्ने



दाङको तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरस्थित नमुना भूह्याँरथानमा दशैंको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

मटाँवा बरघर भलमन्सा तुलसीपुर नगर समितिको आयोजनामा असोज २६ गते सोमबार कार्यक्रम हुन लागेको हो ।

मटाँवा बरघर भलमन्सा तुलसीपुर नगर समिति, नमुना भूह्याँरथान, थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ र थारू कल्याणकारिणी सभा तुलसीपुरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न पाँच गाउँका समूहले थारू समुदायमा दशैंका अवसरमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्नेछन् ।

थारू समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तासम्म सांस्कृतिक पहिचान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नमुना भूह्याँरथानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिनुभयो ।

मटाँवा बरघर भलमन्सा तुलसीपुर नगर समितिका अध्यक्ष बुझौना चौधरीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रमको तयारीका लागि बसेको बैठकमा थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी, क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन धरकट्वा, तुलसीपुरका पूर्वअध्यक्ष गणेश चौधरी, अध्यक्ष पुरन चौधरीलगायत थारू अगुवाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्