स्थानीय सेवा प्रवाहलाई प्रभावकारी, समावेशी र जवाफदेही बनाउन अन्तरसंवाद




दाङको शान्तिनगर गाउँपालिकामा स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सुविधालाई प्रभावकारी, समावेशी र जवाफदेही बनाउन नागरिक समाज तथा स्थानीय सरोकारवालाबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक), जनचेतना महिला सामुदायिक संस्था र शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर ११ गते बिहीबार अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमराज सापकोटासहित वडा नम्बर १ देखि ७ सम्मका वडा अध्यक्ष, शाखा प्रमुख, कार्यपालिका सदस्य तथा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिसहित ५५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय सरकारबाट प्रवाह हुने सेवा तथा सुविधाको अवस्था, नागरिकको पहुँच, सेवा प्रवाहमा देखिएका चुनौती, स्थानीय तहले निर्माण गरेका नीति तथा कानुनको कार्यान्वयन र सरकारको जवाफदेहिताका विषयमा छलफल गरिएको ओरेक दाङका संयाेजक कल्पना चाैधरीले बताउनुभयाे ।
छलफलका क्रममा गाउँपालिकाले नागरिकमैत्री, अपाङ्गतामैत्री तथा लैङ्गिकमैत्री सेवा प्रवाह र बजेट विनियोजनमा सकारात्मक प्रयास गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ।
नीति, कानुन र बजेटमा लक्षित वर्गका लागि व्यवस्था गरिएका प्रावधान व्यवहारमा कार्यान्वयन हुन सकेमा मात्रै उनीहरूले वास्तविक लाभ प्राप्त गर्न सक्ने सहभागीहरूले बताएका थिए।
कार्यक्रमले स्थानीय सरकारको सेवा प्रवाहलाई थप पारदर्शी, समावेशी र जवाफदेही बनाउन सरकार र नागरिक समाजबीच निरन्तर संवाद, सहकार्य, अनुगमन तथा खबरदारी आवश्यक रहेको निष्कर्ष निकालेको छ।
नीति बनाउनु र बजेट छुट्याउनु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन नै सुशासनको आधार भएको कार्यक्रममा जोड दिइएको थियो।

प्रकाशित मिति : २०८३ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्