तुलसीपुरबाट ११ बोरा अवैध पटाका बरामद, तीन जना नियन्त्रणमा



दाङको तुलसीपुरबाट प्रहरीले ११ बोरा अवैध पटाका बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त टोलीले विशेष कारबाहीका क्रममा पटाका बरामद गरेको हो।

तुलसीपुर उपमहानगरपालिका ५ नामेनगरस्थित एक किराना पसलको गोदामबाट ८ बोरा तथा तुलसीपुर ६ बरुवागाउँस्थित एक कोठाबाट थप ३ बोरा गरी ११ बोरा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ।

पटाका कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर ५ का २१ वर्षीय प्रेम कसौधन, २१ वर्षीय संजिव गुप्ता र तुलसीपुर ६ का २४ वर्षीय कैलाश कुमार गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद पटाकासहित तीनै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्