समाजवादको अभ्यासमा समृद्ध समाज




पुनाराम पन्थी

समृद्ध समाजले “जस्तो नाम-उस्तै राम्रो काम” गर्दै आएको छ।समाजका समृद्धकर्मीहरुले बनमा गएर पात टिपे। दुना-टपरी आफै खुटे। भाँडा,दाउरा,औजार,पानी आफै जुटाए। पिठो, आलु, साग, लसुन, प्याज, गोबी, बन्दा, सिन्की, धनियाँ, च्याउ, खुर्सानी, मसला लगायत धेरै सामान आ-आफै ल्याए । कागजमा हातैले लेखेको “रैथाने खाजा घर” ब्यानर स्टलको अगाडि टंङ्ग्याए।

दंगीशरण गाउँपालिकाले यहि पौष २६-२७ गते थारु कला, सृजना र संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धनका लागि २ दिन माघी महोत्सव आयोजना गर्यो। समृद्ध समाजको टिमले महोत्सवको रमाइलोमा रम्दै गाउँको उपजलाई प्रशोधन गरेर परिकारहरु बनाई बिक्री गरे। युवाहरूलाई उद्यम र उत्पादनमा जोडिनु पर्छ भन्ने संदेश दिए। बाताबरणमैत्री असल अभ्यासहरु प्रदशन गरे। महोत्सवलाई कोष सृजनाको अवसर बनाए। भाडामा बस्दै आएका उनीहरू कोष वृद्धि गरेर अफिस भवन बनाउने मिसनमा छन।

महोत्सवमा उनीहरूको खटन-पटन लोभलाग्दो र सिक्न लायक थियो। सबै समूहहरुमा संचार गरे । साँस्कृतिक जुलुस, गीत र नृत्यमा समूहहरुले आयोजकलाई सघाए। सुकलाल चौधरीसरको अध्यक्षतामा संचालन भएको  महोत्सवमा ९० प्रकारका मौलिक रचनाहरु प्रस्तुत भए । समृद्धकर्मी सबै आआफ्नो जिम्मामा ब्यस्त देखिन्थे। खाजा स्टल अगाडि पुग्ने ग्राहकहरु टक्क उभिएर लहरै रहेका अर्गानिक परिकार तिर आँखा डुलाउँथे । खाँउ-खाउँलाग्दो ढिक्री, घोँगी,अचार,पकौडा,अनादीको सेल,च्याउ,सुन्तला, पानी-पुरी र चाट किन्नेहरुको घुईचो थियो ।


बिकासलाई उनीहरूले संस्कृतिसंग जोड्दै आएका छ्न। हरेक कामको सृजनात्मक प्रयोग र निकास नै बिकास ठान्दछ्न। तीन बर्ष देखि माघी महोत्सवमा उनीहरू सक्रिय छ्न। संस्कृतिसंग रम्दै गाउँको उत्पादन बटुलेर प्रशोधन गरी परिकारहरु बेच्दै आएका छन । उनीहरूले तीज, दशै, तिहार र साधारण सभाहरुमा पनि यस्तै सृजात्मक संस्कार बसालेका छ्न। संस्थामा आवद्ध धेरै समूहले आलु,प्याज,लसुन, गहुँ,च्याउ,तोरी, हलेदो,बदाम लगायत सामुहिक खेती गर्दै आएका छ्न। सामुहिक श्रम र हरेक बर्ष सामुहिक भैलो खेलेर कोष वृद्धि गर्छन। तीज र तिहारमा उनीहरूले आफै रचना गरेका चेतनामूलक गीत प्रस्तुत गर्छन् ।

दंगीशरण गाउँपालिका र वडाकार्यालयहरुले समृद्ध समाजसंग बिकास साझेदारको रूपमा हातेमालो गर्दै आएका छ्न । सहकर्मी समाजले भुइँ तहका मानिसरुलाई ७१ वटा समूहमा आवद्ध गरेर बिकास पद्धतिको सुरुवात गरेको थियो। समृद्ध समाज तिनै समूहको कार्यसंजाल संस्था हो ।

यो संस्थाले बिकास पद्धतिलाई समुदायमा आधारित, दीगो र ब्यबस्थित गर्दै आएको छ। हरेक घर र समाजलाई समृद्ध बनाउन समाजबादी अभ्यास अवलम्बन गरिरहेको छ। समृद्ध समाजलाई सहकर्मी समाज, बिकास कोष र फेमी संस्थाले रणनीतिक साझेदारको रूपमा हुर्किन, बढ्न र गर्न मद्दत दिदै आएका छ्न।

 

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्