
उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२/०८३ मा कुल लगतका ६८ दशमलव ०७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार भौतिक संरचनाको अभाव तथा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण मिसिल जलेर नष्ट भएकाले कार्यसम्पादन प्रभावित भएको हो।
मुख्य न्यायाधीश राजेश्वर तिवारीले भवनमा भएको आगजनी र कागजातमा पुगेको क्षतिका कारण मुद्दा फछ्र्यौट दर घटेको बताउनुभयो ।
बितेको आर्थिक वर्षमा कुल एक हजार ६५ मुद्दामध्ये ७ सय २५ वटा मुद्दा फछ्र्यौट भएका छन्। यो अघिल्लो आर्थिक वर्षको ८५ दशमलव ४४ प्रतिशत फछ्र्यौट दरभन्दा करिब १७ प्रतिशतले कम हो।
यद्यपि, चुनौतीपूर्ण परिस्थितिका बाबजुद अदालतले दुई वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नराख्ने आफ्नो कार्यसम्पादनलाई भने कायम राखेको जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार

