
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म निर्वाचन हुने भएको छ। निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध निर्वाचन भएको छ भने बाँकी १७ पदका लागि आज मतदान हुँदैछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।
बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशमा मतदानस्थल र मतदान केन्द्र तोकिएको छ।
कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा), बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान हुने आयोगले जनाएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था रहेको छ।

