
जलवायु परिवर्तन र दिगो जीविकोपार्जनका मुद्दामा जनचेतना फैलाउने तथा नेतृत्व विकास गर्ने उद्देश्यले तीन दिने क्षमता विकास तालिम तुलसीपुरमा सम्पन्न भएको छ। “जलवायुलाई न्याय कसरी दिने?”, “दिगो उत्पादन कसरी गर्ने?” र “यस्ता विषयलाई कसरी अभियानका रूपमा अगाडि बढाउने?” भन्ने मुख्य उद्देश्यका साथ तालिम आयोजना गरिएको हो।
ओरेक दाङको आयोजनामा सम्पन्न तालिममा जलवायु परिवर्तनले महिलाको जीवन, विशेषतः प्रजनन स्वास्थ्यमा पारेको असर, रासायनिक विषादीको प्रयोगले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव तथा जैविक विकल्पको उपयोग र प्रचारप्रसारका विषयमा गहिरो छलफल तथा जानकारी प्रदान गरियो।
तालिममा महिला मानव अधिकार रक्षकहरूको सञ्जालकी अध्यक्ष शुष्मा लामिछाने गिरीले जलवायु संकटको सामना र दिगो जीविकाका लागि महिलाहरूको भूमिका र क्षमता विकासका पक्षमा प्रशिक्षण दिनुभयाे।
साथै कृषि ज्ञान केन्द्रका सेतिराम बबाल र तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका कुलबहादुर चौधरीले पनि जैविक कृषि, रासायनिक विषादी न्यूनिकरण र वातावरणमैत्री उत्पादन प्रणालीबारे प्रशिक्षण दिएका थिए।
तीन दिनसम्म चलेको तालिममा सहभागीहरूलाई चार समूहमा विभाजन गरी कार्ययोजना बनाउने कार्य समेत गरियो।
ती समूहहरूमा युवा सञ्जाल, लैंगिक तथा अल्पसंख्यक समूह, महिला समूह र नवज्योति किशोरी समूह रहेका थिए।
समूहहरूले कृषिमा जैविक प्रविधि अपनाउने र विषादीमुक्त खेतीमा प्रोत्साहन, रासायनिक विषादीको प्रयोग न्यूनिकरणबारे जनचेतना कार्यक्रम, दिगो कृषि अभ्यास र वातावरण संरक्षणमा आधारित कृषि क्रान्तिको अभियान, स्वास्थ्यमा विषादीयुक्त खाद्यान्नको प्रभावबारे सचेतना अभिवृद्धि लगाएतका कार्यक्रमहरू कार्ययोजनामा समावेश गरेका थिए ।
तालिमका सहभागीहरू वर्षा ठकुरी, इन्द्रा परियार, कृति चौधरी र सचिना गौतमले तालिम अत्यन्तै जीवन उपयोगी र व्यवहारमैत्री रहेको प्रतिक्रिया दिए। उनीहरूले वातावरणीय परिवर्तनले कृषिमा पार्ने प्रभाव, लैङ्गिक समानता, तथा महिला मानव अधिकार रक्षकहरूले गर्न सक्ने क्रियाकलापहरूबारे समेत महत्वपूर्ण जानकारी प्राप्त भएको बताए।
ओरेकका कार्यक्रम संयोजक कल्पना चौधरीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाकी पूजा विकले गर्नु
भएको थियाे ।
तालिममा दंगीशरण, शान्तिनगर, तुलसीपुर र लमही क्षेत्रका दलित, जनजाति, अल्पसंख्यक समुदायका महिला तथा किशोरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहररले यस्ता कार्यक्रमले केवल जानकारी प्रदान मात्र नगरी, सहभागीहरूलाई नेतृत्व विकास, योजना निर्माण र सामाजिक रूपान्तरणमा समेत सक्रिय गराउने अवसर दिने बताए ।
जलवायु संकटको समाधान र दिगो जीविकोपार्जनका लागि स्थानीय तहमै सशक्त पहल आवश्यक छ। यस्तो तालिम र कार्ययोजनाले त्यो दिशा दिन्छ भन्ने विश्वास गरिएको छ।

