दाङलगायत ४५ जिल्लामा भोलिदेखि सुपथ मूल्य पसल सञ्चालन



भाेलि (सोमबार) देखि दाङसहित देशभरका ४५ जिल्लामा सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालन हुने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १११ स्थानमा पसल सञ्चालन गर्दै नुन, चामल, तेल, गहुँ, दाल, गेडागुडीलगायतमा छुट दिने जनाएको छ।

कम्पनीका अनुसार चामल, गहुँ, दालमा प्रतिकिलो ५ रुपैयाँ, खाने तेल, आटा, पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ र कर्णालीका सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ।

लुम्बिनी प्रदेशमा मात्र १५ स्थानमा पसल सञ्चालन हुनेछन्, जसमा दाङ, रुपन्देही, बाँके, बर्दिया, गुल्मी र रुकुमपूर्वसमेत पर्दछन्। रोल्पामा पाँच स्थानमा पसल खोलिनेछ।

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनले पनि देशभर न्यूनतम ४० स्थानमा पसल सञ्चालन गर्दै नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ र तेल, चिउरा, पिठो, मैदा, दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाएको छ।

सरकारले चाडपर्वको समयमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्