
दाङको तुलसीपुरमा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर देउवा समूहको नगर अधिवेशन सुरु भएको छ।
ज्येष्ठ सदस्य भरतराज आचार्यको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महाधिवेशन लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरी प्रमुख आतिथ्यतामा अधिवेशन उद्घघाटन गरिएको हाे ।
अधिवेशन उद्घाटन गर्दै नेता गिरीले सङ्ख्याभन्दा संगठनप्रतिको प्रतिबद्धता महत्वपूर्ण हुने बताउनुभयो। नियमित महाधिवेशनको पक्षमा रहेका नेता तथा कार्यकर्ता सङ्ख्यामा कम देखिए पनि उत्साह र जाँगरका साथ अघि बढिरहेको उहाँको दाबी छ।
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका पदाधिकारीप्रति असन्तुष्टि व्यक्त गर्दै गिरीले पार्टीभित्र विधानविपरीतका संरचना निर्माण गरिएको आरोप लगाउनुभयो। उहाँले कांग्रेसको विधानमा वरिष्ठ उपसभापतिको पदको व्यवस्था नरहेको दाबी गर्दै भागबण्डा नमिलेपछि उक्त पद सिर्जना गरिएको टिप्पणी गर्नुभयो।
उहाँले सङ्ख्यामा कम भए पनि नियमित महाधिवेशनको पक्षमा रहेका नेताकार्यकर्तालाई विचलित नहुन आग्रह गर्नुभयो।
तुलसीपुर नगर अधिवेशनले नियमित महाधिवेशन पक्षधर समूहको संगठनात्मक गतिविधिलाई थप अघि बढाउने आशा गरिएको छ ।

