
राष्ट्रिय स्वतन्त्र पार्टी घोराही-दाङमा दिनदिनै पार्टीमा आबद्ध नेता कार्यकर्ताहरुले पार्टी छोड्ने क्रम जारी छ । यही क्रममा मङ्गलबार घोराहीमा पत्रकार सम्मेलन गरी रास्वपाका युएई प्रवास नेपाली कमिटीका सचिव बलभद्र ओली, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीलगायत दर्जन बढीले पार्टी छाडेर दाङमा विशेष अभियान सञ्चालन गर्ने उद्घोष गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा रास्वपामा पछिल्लो समयमा व्यापक विचलन आएकाले आफूहरुले पार्टी छाडेको उहाँहरुले जानकारी गराउनुभएको थियो । टिकट वितरणदेखि हरेक कार्यमा आर्थिक अपारदर्शिता, मनपरी कार्य भइरहेकाले आफूले पार्टी छाडेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रवासमा स्थापना कालदेखि नै वर्षौंसम्म पार्टीलाई बलियो बनाउन र संगठन विस्तार गर्न लागि परेको बताउँदै बलभद्र ओलीले नेपालमा पार्टीले देश बनाउने सवालमा केही गर्छ भन्ने विश्वास सहित आफू फर्किएको तर यहाँ आएपछि व्यापक विचलनमा पार्टी परेकाले आफूले रास्वपा परित्याग गरेको बताउनुभयो । उहाँले रास्वपाबाट कुनै पनि किसिमको परिवर्तन नहुने, मुलुकलाई झनै विग्रहमा लैजाने कार्य भइरहेकाले आउँदो निर्वाचनमा राम्रो व्यक्तिलाई मतदान गर्नको लागि अनुरोध गर्नुभयो ।
दाङमा निर्वाचन जनचेतना अभियान सञ्चालन गरी रास्वपाका गलत कार्यको भण्डाफोर र राम्रो उम्मेदवारलाई मतदान गर्न अनुरोध सहितको कार्यक्रम गरिने ओलीको भनाइ छ ।
यसैगरी पत्रकार सम्मेलनमा पार्टी छाडेको उद्घोष गर्दै विजय केसीले स्थापनाकालदेखि नै पार्टीलाई यस क्षेत्रमा बलियो बनाउन र पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर २ अन्तर्गत पश्चिमी बेल्टमा पार्टीलाई अत्यधिक मत ल्याउनको लागि आफूले नेतृत्व गरेको तर पार्टीमा विचलन आएका कारण आफूले पार्टी छाडेर अभियानमा जोडिएको जानकारी दिनुभयो ।
पछिल्लो समयमा पार्टीमा खराब व्यक्तिहरु भित्रिनुका साथै हावी भएको उहाँको भनाइ छ । यतिबेला रास्वपामा देशभर पार्टी छाड्ने लहर नै चलेको र अझै धेरैले छाड्ने केसीले जानकारी दिनुभयो ।

