तुलसीपुर स्थित हलवारमा मानवसेवा आश्रमको भवन शिलान्यास



No description available.

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित हलवारमा मानवसेवा आश्रमको भवन शिलान्यास गरिएको छ । आइतबार लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले भवनको शिलान्यास गर्नुभएको हो। भवर सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मास्कीले मानवसेवा आश्रमको भवन निर्माणका लागी सबैले सहयोग र सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाले मानवसेवा आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारबाट पनि आवस्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हलवार स्थित कालिकामालिका मन्दीर व्यवस्थापन समितिले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ विगाह २ कठ्ठा जग्गा उपलब्ध गराएको हो । भवन निर्माणका लागी करिब १५ करोड रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेत, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जिसी लगायतले भवन निर्माण पश्चात मानव आश्रम ब्यवस्थापन गर्न सहज हुने बताएका थिए । महायज्ञ सफल बनाउन सबै एकजुट हुनुपर्ने वक्ताहरुको भनाई थियो । कार्यक्रमको शहजीकरण मानवसेवा आश्रमका महासचिव शुशिला केसीले गर्नुभएको थियो ।

यसैबीच तुलसीपुरमा हाल भाडाको भवनबाट संचालणमा रहेको आश्रमको आफ्नै भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । आउँदो माघ १३ गतेदेखि तुलसीपुरमा सञ्चालन हुने महायज्ञ सफल बनाउन विभिन्न समितिहरु गठन गरिएको छ । तुलसीपुर क्षेत्रका विभिन्न व्यवसायी, राजनैतिक दल, जनप्रतिनिधि, समाजसेवि लगायतको सहभागीतामा विभिन्न समितिहरु गठन गरिएको हो ।

सहयोगापेक्षी सडक आश्रीत मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरुका लागि भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लगाउन थालिएको हो । महायज्ञबाट ५ करोड रकम संकलण गर्ने आयोजकको लक्ष्य छ ।

महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको छ । श्रीमद्भागवत ज्ञानविज्ञानको कथा वाचकमा भागवत् भास्कर श्रद्धेय गुरु कमलनयन गौतम रहनुभएको छ।

२०८२ सालसम्म नेपालाई सहयोगापेक्षी सडक मानव मुक्त देश बनाउने उदेश्यले २०६९ भदौ १३ गते हेटौडामा मानव सेवा आश्रम स्थापना भएको थियो । हाल देशभर १९ जिल्लाका २४ स्थानमा सेवाकेन्द्र सञ्चालन भएको छ । दाङमा भने २०७८ बैशाख ३ गतेदेखि भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्