
आउँदो कात्तिक २० र २१ गते देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।
यस वर्ष दिपावलीको लक्ष्मी पूजाका दिन कार्यक्रम परेकाले मिति सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार सात सय ५३ पालिकामा सञ्चालन हुने दुईदिने अभियानमा झन्डै २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।
यसका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
अघिल्लो चरणमा भिटामिन ‘ए’ सेवन दर ९० प्रतिशत र जुकाको औषधि सेवन दर ८७ प्रतिशत रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार

