लुम्बिनीमा दृष्टिविहीनताको दर कर्णालीभन्दा झण्डै दोब्बर



लुम्बिनी प्रदेशमा दृष्टिविहीनताको अवस्था कर्णाली प्रदेशको तुलनामा झण्डै दोब्बर रहेको तथ्यांक सार्वजनिक भएको छ।

विश्व दृष्टि दिवसका अवसरमा तुलसीपुरको रक्षाचौरस्थित नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालमा आयोजित “आँखा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सञ्चारकर्मीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।

अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत शालिकराम गौतमका अनुसार लुम्बिनी प्रदेशमा दृष्टिविहीनताको दर १ दशमलव ७५ प्रतिशत छ भने कर्णालीमा शून्य दशमलव ९१ प्रतिशत रहेको छ।
उहाँका अनुसार आँखाका बिरामीले समयमै उपचारमा ध्यान नदिनु, दुर्गम क्षेत्र, आर्थिक समस्या लगायतका कारण दृष्टिविहीनताको अवस्था देखिएको छ। प्रस्तुत तथ्यांकअनुसार ४१ प्रतिशतले आँखाको समस्या बेवास्ता गर्ने, २० प्रतिशत दुर्गम क्षेत्रका कारण, ३६ प्रतिशत आर्थिक समस्याका कारण र ३ प्रतिशत अन्य कारणले दृष्टिविहीनताको अवस्था भोग्नुपरेको छ।

नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीले आँखासम्बन्धी धेरै समस्या समयमै पहिचान र उपचार गर्न सके दृष्टिविहीनता रोक्न सकिने बताउनुभयो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म सेवा पुर्‍याउन स्थानीय सरकार, स्वास्थ्य संस्था, गैरसरकारी संस्था र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।

आँखा अस्पतालका कार्यकारी निर्देशक धर्मराज गोसाई र सहायक प्राध्यापक डाक्टर रञ्जीत साहले समस्या देखिएपछि मात्र उपचार गर्नेभन्दा नियमित आँखा परीक्षण र समयमै उपचार गर्ने बानीको विकास आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले आँखाको नियमित परीक्षण, उपचार सेवा, सहुलियत तथा निःशुल्क उपचारसम्बन्धी सूचना समुदायसम्म पुर्‍याउन सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।

नेपाल नेत्रज्योति संघका सदस्य ध्रुवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ प्रशासन अधिकृत जसराज बि.क.ले स्वागत र  सुचना अधिकारी    बालाराम खड्काले सहजिकरण गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्