
सल्यानको कपुरकोट गाउँपालिकास्थित आधारभूत अस्पतालमा आँखा उपचार केन्द्र उद्घाटन गरी सेवा शुभारम्भ गरिएको छ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, कपुरकोट गाउँपालिका र राप्ती आँखा अस्पतालको संयुक्त साझेदारीमा स्थापना गरिएको केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन र नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले नेपालमा दृष्टिविहीनताको न्यूनीकरण तथा सर्वसाधारणलाई सहज र सुलभ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन संघले काम गरिरहेको बताउनुभयो। उहाँले स्थानीय सरकारसँगको सहकार्यमा कपुरकोटमा पनि सेवा सुरु गरिएको भन्दै यसको निरन्तरतामा जोड दिनुभयो।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले राप्ती आँखा अस्पतालले विगतमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमार्फत सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै अब गाउँपालिकामै उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकलाई सहज हुने बताउनुभयो।
गाउँपालिका अध्यक्ष पुनले राप्ती आँखा अस्पतालसँग विगत चार वर्षदेखि सहकार्य भइरहेको जानकारी दिँदै आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै नागरिकलाई आफ्नै पालिकामा सेवा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउनुभयो।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले उपचार केन्द्र सञ्चालनले कपुरकोट र आसपासका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
गाउँपालिका र राप्ती आँखा अस्पतालको साझेदारीमा सञ्चालित केन्द्रबाट अब दैनिक बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा उपचार सेवा उपलब्ध हुने राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासनिक अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो।

