तुलसीपुरमा डेङ्गु नियन्त्रण तथा रोकथामसम्बन्धी सचेतना अभियान




दाङको तुलसीपुरमा डेङ्गु नियन्त्रण तथा रोकथामसम्बन्धी सचेतना अभियान सम्पन्न भएको छ। तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको सहकार्यमा अन्तर्क्रिया तथा फिल्ड भिजिट गरिएको हो।

जनस्वास्थ्य शाखाका डेङ्गु फोकल पर्सन शिवप्रसाद तिवारीले साउन, भदौ र असोजमा डेङ्गु संक्रमणको जोखिम बढी हुने भएकाले उपमहानगरपालिकाले १९ वटै वडामा तीन महिने सचेतना अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। उहाँले डेङ्गुका लक्षण, बच्ने उपाय तथा नियन्त्रणका उपायबारे जानकारी गराउनुभयो।

साे अवसरमा फिल्ड भिजिट पनि गरिएको थियाे ।
फिल्ड भिजिटका क्रममा भण्डारण गरिएको पानी र गाडीका टायरलगायत स्थानमा डेङ्गुको लार्भा फेला परेको थियो। फेला परेका लार्भा नष्ट गर्नुका साथै लामखुट्टेको सम्भावित बासस्थान पहिचान गरी सरसफाइ गरिएको थियो।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले डेङ्गु नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले लामखुट्टेको बासस्थान नष्ट गर्नुका साथै सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सराेकारवालाहरुकाे उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्