लुम्बिनीमा स्वास्थ्य सुधारका १३ प्रतिबद्धतासहित देउखुरी घोषणापत्र जारी



लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा सुधारका लागि १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ।

स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न भएपछि जारी घोषणापत्रमा आयुर्वेद औषधि उत्पादन, अस्पताल सेवाको गुणस्तर सुधार, विद्युतीय स्वास्थ्य अभिलेख, सुरक्षित मातृत्व, पोषण तथा नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिइएको छ।

स्थानीय जडीबुटीको संरक्षण गर्दै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्ने, कपिलवस्तु, बाँके र बर्दियालाई स्वास्थ्य तथा आरोग्य पर्यटनको गन्तव्य बनाउने घोषणा गरिएको छ।

त्यस्तै, अस्पतालका उपकरणको परीक्षण तथा मर्मत, डिजिटल स्वास्थ्य प्रणाली विस्तार, सुरक्षित मातृत्व अभियान, तथ्यमा आधारित स्वास्थ्य नीति तथा योजना निर्माण र तीन तहबीच बिरामी प्रेषण प्रणालीलाई व्यवस्थित गर्ने प्रतिबद्धता गरिएको छ।

घोषणापत्रमा कुपोषण न्यूनीकरण, मानसिक स्वास्थ्य प्रवर्द्धन, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा स्वास्थ्य क्षेत्रको बेरुजु घटाउने लक्ष्यसमेत समेटिएको छ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्