नेपाल VS नेदरल्याण्ड्स: तीन सुपर ओभरपछि १००औं खेलमा रोमाञ्चक हार

तेस्रो सुपर ओभरमा रन नै बनाउन नसक्दा नेपाल पराजित


स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल रोमाञ्चक तरिकाले पराजित भएको छ। नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा हारको सामना गर्न बाध्य भयो।

निर्धारित २० ओभरको खेल बराबरी भएपछि पहिलो र दोस्रो सुपर ओभर पनि बराबरीमा टुंगिएको थियो। तेस्रो सुपर ओभरमा भने नेपाल रन नै बनाउन असफल हुँदा नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरी जित दर्ता गर्यो।

नेपालका लागि यो खेल विशेष पनि रह्यो, किनकि यो टोलीको १००औं टी–२० अन्तर्राष्ट्रिय खेल थियो।

तीन सुपर ओभरसम्म बराबरीको संघर्ष

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएको थियो। जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनायो। दोस्रो सुपर ओभरमा नेदरल्याण्ड्सले १७ रन बनायो भने नेपालले पनि १७ रन नै बनाएपछि खेल तेस्रो सुपर ओभरमा पुग्यो।

तेस्रो सुपर ओभरमा नेपालले रन नै जोड्न सकेन। कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए भने त्यसपछि ब्याटिङ गर्न आएका रुपेश सिंह दुई बल डट खेलेर चौथो बलमा आउट भए। नेदरल्याण्ड्सले पहिलो बलमै छक्का हानेर जित सुनिश्चित गर्‍यो।

२० ओभरको खेलमा पनि बराबरी

यसअघि टस हारेर बलिङ रोजेको नेपालले नेदरल्याण्ड्सलाई २० ओभरमा ७ विकेटको क्षतिमा १५२ रनमा रोक्यो। जवाफमा नेपालले पनि ८ विकेट गुमाउँदै १५२ रन नै बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाएका थिए। कुशल भुर्तेलले ३४ रन जोडे। अन्तिम ओभरमा नेपाललाई १६ रन आवश्यक थियो। सन्दीप लामिछाने र नन्दन यादवले आक्रामक प्रयास गरे पनि १ रनले जित टाढियो।

बलिङमा सन्दीपको चमक

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २.५ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए।

नेदरल्याण्ड्सका लागि डानियल डोरामले ४ ओभरमा १४ रन दिँदै ३ विकेट लिए। विक्रमजित सिंहले २ विकेट लिए भने अन्य तीन बलरले १–१ विकेट लिए।

नेपालबाट दुई खेलाडीको डेब्यू

यस खेलमा नेपालका दुई खेलाडीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरे। ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले पहिलो पटक राष्ट्रिय टोलीबाट टी–२० खेले।

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्