जिल्ला सहकारी संघ लिमिटेड दाङले देउखुरीको एक सहकारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ । देउखुरीको राप्ती गाउँपालिका-५ सिसहनियामा रहेको हरियाली वचत तथा ऋण सहकारी संस्थाको लमही सेवा केन्द्रमा नागरिक अभियान्ताको नाममा ऋण मिनाह गर्न आएको धम्कीप्रति संघले आपत्ति र निन्दा प्रकट गरेको छ ।
उक्त सहकारीमा आफुलाई नागरिक अभियान्ता बताउने व्यक्तिले ९८०९८८६८८३ नम्बरको मोवाईल प्रयोग गरी पटक-पटक फोन मार्फत सदस्यहरुको ऋण मिनाह गर्न धम्कि दिने गरेका छन् । यस्तै गत जेठ २८ गते सोमबारका दिन फोन गरि धम्कि दिने सोहि व्यक्तिसहित केहि अराजक व्यक्तिहरु सेवाकेन्द्रको कार्यालय भित्र प्रवेश गरी सदस्यहरुको नाम नै तोकेर ऋण मिनाह गर्न संस्थामा कार्यरत कर्मचारीहरुलाई दिएको दवाव र धम्किको घट्नाप्रति संघले घोर आपत्ति जनाउँदै सम्बन्धित व्यक्तिलाई कार्बाहीको माग समेत गरेको छ ।
संघले दुर्गा प्रसाईको नागरिक अभियान नाम बताउने उक्त समुह वा व्यक्तिले गरेको अवान्छित क्रियाकलापक तत्काल बन्द गर्न पनि आग्रह गरेको छ । जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले मंगलबार एक विज्ञप्ती जारी गरी दोषीलाई कार्बाहीको माग गर्नुभएको छ ।
‘सामान्यतया ः सहकारी संस्थाहरुमा सदस्य भन्दा बाहिरको वा राज्यको पूँजी रहेको हुदैन् । निम्न वर्गका नागरिकले खर्च कटाएर वा कडा परिश्रम गरेर भविष्यको लागि बचाएर राखेको रकम नै सहकारीमा रहेको पुँजी हो । यहि पुँजी सहकारी संस्थाहरुले सदस्यको आवश्यकता टार्नका लागि ऋणको रुपमा परिचालन गर्दछन् । यसरी लिएको ऋण तिर्न अटेरी गर्नु, संस्थालाई दवाव वा धम्की दिनु, ऋण नतिर्नका लागि सदस्यलाई उकास्नु भनेको सहकारी संस्थामा रहेको सदस्यको वचत रकममा जोखिम सिर्जना गर्नु हो ।’ विज्ञप्तीमा भनिएको छ-‘नागरिक अभियानका नाममा चरम असामाजिक तथा अपराधिक कार्यहरु भइरहेकोले यसप्रकारको कार्य गर्ने, गराउने व्यक्ति वा समुहलाई सख्त कारवाही गर्न राज्यसंग माग गर्दछौं ।’
गैह्रसदस्य सहकारी संस्थाको कार्यालयमा आएर ऋण तिर्दैनौं, ऋण तिर्न भनेको खण्डमा संस्थामा आगो लगाउछौं, ऋण मिनाह गर्नुपर्छ भन्ने जस्ता क्रियाकलापहरु गर्नु गराउनु घोर आपत्तिजनक कार्य भएको उल्लेख गरेको छ । यस्तै विज्ञप्तीमार्फत सबै सहकारी संघ/संस्था, त्यसमा आवद्ध सदस्यहरु र सम्पूणर् सहकारी अभियानकर्मीहरुलाई यसप्रकारका कार्यको निन्दा र विरोध गर्दै सहकारी अभियानको रक्षाका लागि सचेत एवं जागरुक हुन संघले आग्रह गरेको छ ।