
अमृतपुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष पदका उम्मेदवार जितबहादुर खड्काले उपभोक्तालाई स्वच्छ, नियमित र समान रुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यसहित निर्वाचनमा होमिएको बताउनुभएको छ ।
आगामी पुस ९ गते हुन गइरहेको खानेपानी उपभोक्ता संस्थाको निर्वाचनलाई लक्षित गर्दै खड्काले उपभोक्तालाई सचेत गराउँदै भन्नुभयो, “हामीले दैनिक उपभोग गरिरहेको पानी किन धमिलो आउँछ ? किन बिहान साँझ नियमित रूपमा खानेपानी आउँदैन ? र जहाँ नियमित पानी आउँछ, त्यहाँ कुन पदाधिकारीको घर पर्छ ? यी प्रश्नहरू एकपटक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।”
उहाँले हजारौँ उपभोक्ता र करोडौँ रुपैयाँको कारोबार हुने संस्थाले कहिल्यै सार्वजनिक सुनुवाइ नगर्नु आफैंमा गम्भीर विषय भएको उल्लेख गर्नुभयो ।
“तलब नहुने संस्थामा पनि किन मानिसहरू वर्षौंदेखि टाँसिन खोज्छन् ? के एउटै संस्थामा ८–१० वर्षसम्म स्वयंसेवक भएर काम गर्नु सहज र सम्भव छ ?” भन्दै खड्काले वर्तमान व्यवस्थामाथि प्रश्न उठाउनुभयो ।
खड्काका अनुसार खानेपानी संस्था सम्पूर्ण उपभोक्ताको सार्वजनिक सम्पत्ति हो । “नयाँ नेतृत्व छान्नु भनेको आगामी तीन वर्षका लागि संस्थाको साँचो जिम्मेवार हातमा दिनु हो ।”
उहाँले भन्नुभयो, “संस्थाको संरक्षण, वृत्तिविकास, नयाँ मुहानको खोजी, शुद्ध पानीको सहज वितरण, उपभोक्ताबाट संकलित रकमको सुरक्षा, पारदर्शी खरिद प्रक्रिया र स्रोत सुनिश्चित नगरी धारा विस्तार नगर्नु नेतृत्वको प्रमुख दायित्व हो ।”
उहाँले समस्या पर्दा भन्दै संस्थाको पैसा घर लैजाने प्रवृत्ति अन्त्य गर्नुपर्ने र सामग्री खरिद खुला विज्ञापनमार्फत हुनुपर्नेमा जोड दिनुभयो । “धारामा हावा होइन, पानी पठाउने व्यवस्था गरिनुपर्छ,” खड्काको भनाइ छ ।
संयुक्त प्यानलबाट उम्मेदवारी दिएका खड्काले आफ्नो टिम जिम्मेवारी पूरा गर्न सक्षम रहेको दाबी गर्नुभयो ।
प्यानलमा अध्यक्षमा जितबहादुर खड्का, उपाध्यक्षमा मेघराज पाण्डे, सचिवमा मुक्ति प्रसाद भट्टराई, सहसचिवमा प्रेमकुमारी विक (सुस्मा), कोषाध्यक्षमा हिरा विक तथा सदस्यहरूमा मेनुका पन्थी (न्यौपाने), डण्डविर खत्री र इन्द्रजित चौधरी रहेका छन् ।
“एकपटक विश्वास गर्नुस् र भोट हाल्नुस् । तपाईं मतदाता हुनुहुन्न भने पनि छिमेकी, इष्टमित्र, साथीभाइ र दिदीबहिनीलाई यी कुरा बुझाइदिनुस्,” उहाँले आग्रह गर्नुभयो ।
“नयाँ काम नयाँ मान्छेबाट हुन्छ, त्यसैले यसपटक जितबहादुर खड्काको टिम रोजिदिनुस्,” भन्दै उहाँले उपभोक्तासमक्ष अपिल गर्नुभयो ।

