नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले मिडिया साक्षरता अभियान समय सापेक्षताका हिसाबले अत्यन्तै प्रभावकारी भएको बताउँनुभएको छ । नागरीकहरुलाई मिडीया प्रतीको विश्वसनीयता दिनका लागि मिडीया साक्षरता अभियान प्रभावकारी तरीकाले अगाडि बढाउँनुपर्ने बताउँनुभयो ।
नेपाल पत्रकार महासंघ दाङले तुलसीपुरबाट शुरु गरेको मिडिया साक्षरता अभियान कार्यक्रममा अध्यक्ष पोख्रेलले मिडिया र मिडियममा फरक भएको बताउँनुभयो । उहाँले देशभरका पत्रकार महासंघहरुले यो खाले अभियानहरु चलाउनुपर्ने आवश्यक रहेको बताउँनुभयो ।
प्रमुख अतीथी समेत रहेका अध्यक्ष पोख्रेलले भन्नुभयो –‘ खोज्नु, सम्पादन गर्नुका साथै सत्य र तथ्यमा आधारित रहेर मिडिया उपभोक्तालाई ज्ञान, शिक्षा र मनोरञ्जन दिनु मिडियाको धर्म हो । सोसल मिडिया भनेको हरेक व्यक्तिले आफूलाई अभिव्यक्त गर्ने वा आफ्ना जिज्ञासाहरु राख्ने ठाउँ हो, त्यहाँ कुनै प्रमाण वा आधिकारिकताको आवश्यकता पर्दैन । ’अध्यक्ष पोख्रेलले नेपाल पत्रकार महासंघ अहिले पनि स्वतन्त्र पत्रकारिताको सवालमा आवाज उठाइरहेको र स्वतन्त्र पत्रकारिताको मुद्दा पत्रकारको सवालमा नभएर नागरिककको पक्षमा भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार सुदिप गौतमले पाठक, स्रोता र दर्शकहरुले सत्य र तथ्यमा आधारित समाचार हो वा होइन, छुट्यान सक्ने भएमा मात्र पत्रकारिताको विकास हुने बताउँनुभयो । उहाँले भन्नुभयो – एउटा पत्रकारले स्वतन्त्र भएर लेख्न वा बोल्न पाएन भने सत्य सूचना बाहिर आउँदैन र नागरिकहरु सञ्चारमाध्यममा गलत कुरा पढ्न, सुन्न र हेर्नुपर्ने हुन्छ । यो यथार्थ हो । ’
यस्तै कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारिले मिडियाका नाममा गैर मिडियाहरु सल्बलाउन खोजे पनि त्यस्ता तत्वहरुलाई निस्तेज पार्न प्रेस काउन्सिल नेपाल क्रियाशील रहेको बताउनुभयो । आमनागरिकहरुलाई भ्रमपूर्ण सूचना कुनै पनि माध्यमबाट प्रवाह गर्ने अधिकार कसैलाई नभएको जिकीर गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङले तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुसँग बिहीवार मिडिया साक्षरत अभियान कार्यक्रम गरेको थियो ।
संघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । मेट्रो कलेजका प्रधानाध्यापक बसन्त आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महासंघ दाङका उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गर्नुभएको थियो । संघले क्रमागतरुपमा जिल्लामा क्रियाशिल कर्मचारी, प्रहरीलगायत विभिन्न क्षेत्रमा कार्यरतहरुसँग मिडिया साक्षरता अभियान चलाउने जनाएको छ ।