पश्चिम दाङलाई प्राथमिकता दिन माग गर्दै मन्त्री चौधरीसंग एमाले नेतृ कोमल वलीको भेट




प्रदेश सरकारअन्तर्गत ऊर्जा तथा सिंचाइ मन्त्री माननीय सीता चौधरीजूसँग नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा वलीले आगामी आर्थिक वर्षको बजेट बिनियोजनमा पश्चिम दाङलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो।

वलीले विकासका दृष्टिकोणले पछाडि परिरहेको पश्चिम दाङलाई समेटेर समावेशी र समतामूलक विकासको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै योजना निर्माणमा गम्भीरता देखाउन आग्रह गर्नुभयो। उहाँले ऊर्जा, सिंचाइ, पूर्वाधार, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा ठोस कार्यक्रमहरू बजेटमा समेटिनुपर्नेमा जोड दिनुभयो।

“पश्चिम दाङ अझै पनि आधारभूत विकासबाट टाढा छ। जनताको अपेक्षा पूरा गर्न प्रदेश सरकारले योजनाबद्ध ढंगले कार्यक्रम ल्याउनुपर्छ,” नेतृ वलीले भन्नुभयाे ।

भेटमा मन्त्री चौधरीले सबैको भावना सुन्ने र जनताको हितमा काम गर्न आफू सधैं तत्पर रहेको बताउनु भयो। उहाँले पश्चिम दाङको विकासका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“जनताको अपेक्षा बुझेर योजना बनाउन आवश्यक छ। पश्चिम दाङको विकासका लागि सरकार प्रतिबद्ध छ,” मन्त्री चौधरीले भन्नुभयाे ।

वलीले मन्त्री चौधरी सरल र जनमुखी स्वभावकी नेतृ भएको उल्लेख गर्दै प्रदेश सरकारको आगामी कार्यदिशा जनअपेक्षामुखी रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्