प्रदेश सभा सदस्यहरूलाई थप सक्रियता बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन



नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका सवालहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिनुभएको छ ।
राप्ती उपत्यका (देउखुरी) स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा उहाँले आगामी अधिवेशनहरूमा अझ सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । प्रदेश सभामा जनताका समस्या, विकासका प्राथमिकता र नीतिगत विषयहरूलाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले योजना छनोटमा सक्रिय सहभागिता जनाउने, कार्यान्वयनको अनुगमन गर्ने र पार्टी संगठन सुदृढीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । विगत अधिवेशनहरूको अनुभवलाई आधार बनाएर आगामी दिनमा अझ प्रभावकारी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
बैठकले यसअघि संसदीय बोर्डले गरेका निर्णयहरू अनुमोदन गरेको छ । साथै, संसदीय बोर्डको आमन्त्रित सदस्यमा बसन्ती न्यौपानेलाई मनोनयन गर्ने निर्णय समेत गरिएको छ ।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य राजमजीप्रसाद घिमिरे, इन्द्रा गहतराज, बसन्ती न्यौपाने लगायतले धारणा राख्नुभएको थियो । बैठकको सहजिकरण प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्